भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम उद्घाटन गरेकी छन् । भरतपुर–२४ मा आज एक औपचारीक कार्यक्रमका बीच समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सुरु भएको हो । मेयर दाहालले स्वास्थ्य सामग्री स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेकी हुन् ।
समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीको टोली घर–घरमा पुगेर ६८ वर्षमाथिका बृद्धबृद्धाको स्वास्थ्य परीक्षण गर्ने दाहालले बताइन् । दाहालका अनुसार पहिलो चरणमा महानगरको १४ वटा वडामा यो कार्यक्रम लागु हुन्छ । पहिलो चरणको कार्यक्रम २५ दिनसम्म सञ्चालन हुन्छ । बाँकी १५ वडामा अर्काे चरणको कार्यक्रम सञ्चालन हुने उनले बताइन् ।
स्वास्थ्यकर्मीको टोलीले घर–घरमा पुगेर बृद्धबृद्धाको सुगर, प्रेसर परीक्षण गर्नुका साथै तौल मापन गर्ने भरतपुर महानगरको जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख दिपक सुवेदीले बताए । नियमित औषधी सेवन गरिरहेका बृद्धबृद्धालाई पनि थप औषधीको लागि स्वास्थ्यकर्मीले सहजिकरण गर्ने छन् । यस कार्यक्रमबाट अपांग र अशक्तले पनि लाभ लिने उनले बताए ।
समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमको पहिलो सेवा भरतपुर–२४ का ७२ वर्षीय टिकाराम भट्टराईले लिएका छन् । स्वास्थ्य कार्यक्रमका लागि महानगरले स्वास्थ्य विज्ञका रुपमा फिजिसियन डा भोजराज अधिकारीलाई नियुक्त गरेको छ ।











