रुकुम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको फैसला आएको छ।
जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले तत्कालिन वडाअध्यक्षसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको हो। आइतबारदेखि जारी अन्तिम सुनुवाइ आज सकिएपछि यस्तो फैसला आएको उक्त मुद्दामा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए।
सजाय पाउनेहरूमा तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन्। त्यसैगरी एकजना नाबालकलाई पनि जन्मकैदको सजाय भएको छ।
यो मुद्दामा अदालतले अन्य आठजनालाई भने सफाइ दिएको छ।
२०७७ जेठ १० गते प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका नवराज र उनका साथीहरूको समूहलाई सोतीका स्थानीयले कुटपिट गरेर गरी सेती नदीमा बगाइदिएको आरोपमा नेपाल सरकारले ३४ जनाविरुद्ध मुद्दा चलाएको थियो ।
प्रेमिका भनिएकी किशोरीले हत्या भएको स्थानमा नपुगेको बयान दिए पनि निजकै कारण घटना भएको भन्दै प्रेमिका भनिएकी किशोरीमाथि समेत कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतमा मुद्दा चलाइएको थियो । २०७७ साल जेठ ३२ मा रुकुम पश्चिम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको संख्या बढी हुँदा सुनुवाइमा लामो समय लागेको हो ।
हत्या गरिएका नवराज बिककी प्रेमिका, उनकी आमा र दाजुलाई भने जातीय छुवाछुतमा दुई–दुई वर्ष कैदको फैसला भएको अदालतकी स्रेस्तेदार मन्दिरा शाहीले जानकारी दिइन् ।











