काठमाडौँ । भिजिट भिसामार्फत विदेश जान खोज्ने ६ हजार ६३७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले फर्काएको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले २०७९ को वैशाख १ गतेदेखि हालसम्म असोजसम्म भिजिट भिसामार्फत विदेश जान लागेकालाई फर्काएको हो । जसमा ३४ जना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट रहेका छन् ।
कागजात हेर्दा भिजिट भिसामार्फत देखिए पनि उनीहरू वैदेशिक रोजगारीमा जाने मनसाय देखिएकाले फर्काउने गरिएको प्रहरीले जनाएको छ । ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले गत आर्थिक वर्ष २०७९/८० मा मात्रै ४ हजार ४७९ जनालाई विमानस्थलबाट फर्काएको बताए ।
हाल ब्युरोले एयरपोर्टबाट छोडेको छ । अहिले विमानस्थल प्रहरी आफैँले हेर्ने गरेको छ । भिजिट भिसामार्फत जाने क्रम बढेपछि ब्युरो विमानस्थलमै खटिएको थियो । हाल विमानस्थल प्रहरीले हेर्न थालेपछि ब्युरो पछि हटेको हो ।
नेपालबाट भिजिट भिसामार्फत जाने अधिकांशको गन्तव्य दुबई हुने गरेको छ । दुबईबाट विभिन्न देशमा घरेलु कामदार तथा अन्य काममा पठाउने गरेको पाइएको एसपी पङ्गेनीले बताए । त्यसरी भिजिट भिसामा जानेमा धेरैजसो महिला छन् ।
उनीहरूलाई भिजिट भिसामार्फत पठाउने र त्यहाँ घरेलु कामदारको रूपमा काममा लगाउने गरेको देखिएको उनको भनाई छ ।










