चितवन । चितवनको भरतपुर अस्पतालमा बिरामीको चाप अत्यधिक भए पनि जनशक्ति र उपकरण त्यसअनुसार नहुँदा बिरामीहरुलाई गुणस्तरीय सेवा दिन नसकिएको चिकित्सकहरुले बताएका छन् ।
भरतपुर अस्पताल झण्डै १० वर्षयता ६०० बेडमा सन्चालन भइरहेको छ । सो अस्पताललाई सरकारले २०७५ सालमा ‘विशिटिष्कृत रेफरल अस्पताल’ घोषणा गर्दै ५ सय बेड स्वीकृत गरे पनि जनशक्ति भने एकजना पनि थपिदिएन । ओएनएम सर्भेमा एक हजारभन्दा बढी सरकारी दरबन्दी आवश्यक रहेको निष्कर्ष निकालिए पनि अर्थ मन्त्रालयले स्वीकृत नगर्दा हेपिएको महसुस भएको अस्पतालका अधिकारीहरु बताउँछन् ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) प्राडा कृष्णप्रसाद पौडेलका अनुसार राजधानी काठमाडौं बाहिर दैनिक झण्डै तीन हजार जना बिरामी ओपीडीमा उपचारका लागि आउने सरकारी अस्पताल भरतपुर नै रहेको ठोकुवा गर्छन् । अस्पतालमा सबैभन्दा धेरै बिरामीहरु मेडिसिन विभागमा आउँछन् । बिरामीको बढ्दो चापलाई मध्यनजर गरेर अस्पतालले मेडिसिनका मात्रै ५ वटा ओपीडी चलाएको छ । यति गर्दा पनि बिरामीको चाप घटेको देखिँदैन ।
मेडिसिन विभागमा असाध्यै भीड लाग्ने भएपछि अस्पतालले बिहानी सत्रमा नियमित औषधि सेवन गर्ने बिरामीलाई सेवा दिन थालेको छ । सुगर, थाइराइड तथा अन्य रोगका औषधि लिनुपर्ने बिरामीलाई बिहानमा सेवा दिँदासमेत चाप कम देखिँदैन । अनलाइन खबर डट कम बाट











