काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ मा कुनै पनि अवस्थामा गठबन्धन नहुने बताएका छन् । ०८४ को निर्वाचनमा कसैले गठबन्धन गरेर चुनाव लडौँ भन्यो भने कांग्रेस एक नरहने उनले ठोकुवा गरे ।
नेपाल प्रेस युनियन काठमाडौँ शाखाले गौशालामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले गत निर्वाचनमा गठबन्धन गरेर पहिलो पार्टी बने पनि सबैतिर कांग्रेसको रुवाबासी मात्रै रहेको उल्लेख गरे ।
निर्वाचन अघि गर्ने गठबन्धनले पार्टीलाई जरासम्म कुहाउने उनको भनाइ छ । उनले भने, ‘रणनीतिक हिसाबले ठिक होला, तर सैद्धान्तिक हिसाबले गलत गठबन्धनको संस्कृति गलत छ । ०८० मा सबैतिर सरकारमा बसेको कांग्रेस ०८४ मा चुनाव हारिन्छ भनेर चिन्ता गरिरहेको छ, किन यस्तो भयो? सरकारमा जाने मात्रै यति महत्त्वपूर्ण किन भइरहेको छ?’
गत निर्वाचन पछि कांग्रेस ठुलो पार्टी बनेपछि सभापति शेरबहादुर देउवाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ भनेको र त्यो स्वाभाविक भएको भन्दै महामन्त्री थापाले सभापतिले गरेको विद्रोह भएको बताए । त्यतिवेला कांग्रेसको प्रस्ताव केपी ओलीले स्वीकारेको भए कांग्रेस एमालेको सरकार बन्ने सम्भावना रहेको पनि थापाले बताए ।
उनले सरकारको काम कारबाहीप्रति पनि असन्तुष्टि जनाए । अब कांग्रेसको नेतृत्वमा सरकार बन्ने हो भने २५ जना मन्त्री नै कांग्रेसकै बन्नुपर्ने र अर्कोको नेतृत्वमा सरकार बनेको बेला उसैको पार्टीलाई सम्पूर्ण रूपमा सरकार चलाउन दिनुपर्ने थापाको भनाइ थियो ।
कोशी प्रकरणलाई सङ्केत गर्दै थापाले देउवालाई भोट हालेर फोटो देखाउनेले नै अहिले विद्रोहको कुरा गरेको आरोप लगाए । संसदीय दलको निर्वाचनमा आफूले ३६ मत पाउने अवस्था रहेकोमा २५ मत मात्र पाएको र त्यस समयमा खुट्टा कमाएकाहरूले नै अहिले विद्रोहको कुरा गरेको उनको भनाइ थियो ।











