काठमाडौं। अष्ट्रेलियाले आइसिसी विश्वकप क्रिकेटमा श्रीलंकालाई ५ विकेटले हराउँदै पहिलो जित हात पारेको छ।
जितको लागि २ सय १० रनको मध्यम विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ३५ दशमवल २ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। ग्लेन म्याक्सवेल २१ बलमा ४ चौका र २ छक्कासहित ३१ रनमा नटआउट रहे।
मार्कस स्टोइनिस १० बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे। अष्ट्रेलियाको जितमा जोश इंग्लिसले ५९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए। मिचेल मार्श ५१ बलमा ९ चौका ५२ रनमा आउट भए। ओपनर डेविड वार्नर ११ रनमा एलबीडब्लू आउट भए। स्टिभ स्मिथ शून्यमा एलबीडब्लू आउट भए।मार्नस लाबुसेन ६० बलमा २ चौकासहित ४० रन बनाए।
श्रीलंकाका दिलशान मदुशानकाले ३ विकेट लिए। दुनिथ वेलालागेले एक विकेट लिए।
त्यसअघि लखनऊमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका ४३ दशमलव ३ ओभरमा २ सय ९ रनमा अल आउट भएको थियो। श्रीलंकाका ओपनर कुशल परेराले ८२ बलमा १२ चौकासहित सर्वाधिक ७८ रन बनाए। त्यस्तै पाथुम निसांका ६७ बलमा ८ चौकासहित ६१ रनमा आउट भए। ओपनर बाहेक अन्य कुनैपनि ब्याटरको प्रदर्शन राम्रो हुन सकेन ।
अष्ट्रेलियाको सानदार जितमा एडम जाम्पाले ४ विकेट लिए। कप्तान प्याट कमिन्स र मिचेल स्टार्कले २र२ विकेट लिए। ग्लेन म्याक्सवेलले १ विकेट लिए।
अष्ट्रेलिया पहिलो खेलमा भारतसँग ६ विकेट र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १ सय ३४ रनले पराजित भएको थियो। अष्ट्रेलियाले अव शुक्रबार पाकिस्तानसँग खेल्नेछ ।
श्रीलंकाको भने यो लगातार तेस्रो हार हो। श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग १ सय २ र दोस्रो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकाले अव शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ।
सुरुवाती तीन खेलमा अपराजित रहँदै भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा छन्। आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबीच खेल हुनेछ।











