चितवन । सरसफाईमा गम्भिर लापरबाही गर्ने इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारस्थित एभरेष्ट होटल सिल गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत सन्तोष ढकालको नेतृत्वमा बिहीबार साँझ गएको अनुगमन टोलीले होटल सिल गरेको हो ।
सेवाग्राहीको उजुरी परेपछि अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख घननाथ अधिकारीले बताए । तीन दिनभित्र होटल पूर्ण रुपमा सरसफाई कायम गर्न निर्देशन दिइएको उनले बताए ।
अनुगमनका क्रममा एभरेष्ट होटलले खानेकुरा राम्रोसंग भणडार नगरेको, बासी खानेकुराहरु बेच्नको लागि राखेको, काम नगर्ने बिग्रेको फ्रीजमा खानेकुरा राखेको, खाना पकाउने भान्सा मापदण्ड अनुसार नभएको, भान्साको सरसफाइ राम्रो नभएको, खाना पकाउने तेलको गुणस्तर राम्रो नभएको र प्रयोग नभएको मासुलाई बोराले छोपेर राखेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर लापरवाही गरेको अधिकारीले बताए ।
सरसफाईका मापदण्ड पुरा भएपछि मात्रै होटल सञ्चालन गर्न दिइने विभागले जनाएको छ । अनुगमनमा गाउँपालिकाका प्रतिनिधि, नेपाल प्रहरी लगायतको उपस्थिती थियो ।










