भरतपुर । भरतपुर महानगरपालिकाले चाडपर्व लक्षित गरेर आजदेखि किराना पसलहरुमा अनुगमन गरेको छ । अनुगमन समितिको संयोजकको जिम्मेवारी पाएका भरतपुर–२ का वडा अध्यक्ष मनोज रानाभाटको नेतृत्वमा भरतपुर–३, ४ र ७ का किराना पसलमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा भरतपुर–७ स्थित सिक्स टेन मार्टमा वियर, चियापत्ती लगायत केहि म्याद गुज्रिएको खाद्यान्न फेला परेको रानाभाटले बताए । अनुगमन गरिएका पसलहरुमा समग्रमा सन्तोषजनक अवस्था पाइएको छ । भरतपुर–३ को आलु मण्डिका पसलमा विक्रीका लागि राखिएका आलु तथा प्याजको बोराको तौल गरिएको थियो ।
केहि पसलमा व्यापारीले भनेको भन्दा ३०० ग्रामसम्म कम प्याज भेटिएको थियो । ग्राहकलाई तोकिएको भन्दा कम तौलको प्याज विक्री नगर्न अनुगमन टोलीले दिर्नेशन दिएको छ भने अधिकांश पसलहरुले महानगरमा दर्ता नवीकरण नगरेको पाइएको छ ।










