चितवन । रुपन्देहीको टेन स्टार फुड्सको डिलर चितवन पिया सप्लायर्स अन्ततः दर्ता भएको छ ।
दर्ता हुन नदिने स्थानीय चाउमिन उद्योगीको दबाबका बीच चितवन पिया सप्लायर्स भरतपुर महानगरपालिका–१० को कार्यालयमा बिहीबार दर्ता भएको हो । यससँगै सप्लायर्सले टेन स्टारको चाउमिन निर्बाध बिक्रीवितरण गर्न पाउने भएको छ ।
अनुगमनका क्रममा पसल दर्ता नभएको पाइएपछि वडा कार्यालयले उक्त पसल बन्द गराएको थियो । पसलमा म्याद गुज्रिएको र नगुज्रिएको खाद्यवस्तु पनि सँगै भेटिएको थियो । स्थानीय उद्योगीले भने ‘सडेको चाउमिन’ बिक्री गरेको भन्दै भ्रम सिर्जना गरेका थिए ।
महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालको नेतृत्वमा पसलको पुनः अनुगमन गर्दा सुधार भएको पाइएपछि पसल दर्ता गर्न अर्यालले निर्देशन दिएका थिए ।










