चितवन । चितवनका गुरूङहरूले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलाई तत्काल कारवाही गर्न माग गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो व्यक्तिगत छवि धमिल्याउने काम गरेको भन्दै भरतपुर–१६, शरणपुरकी पूर्णिमाया गुरूङले सोमबार तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवन र तमू प्ये ल्हु संघ चितवनको आडमा प्रमुख जिल्ला अधिकारी थापाको ध्यानाकर्षण गराएकी हुन्।
उनले गत बिहीबार चितवन प्रहरीमा उपाध्यायविरूद्ध उजुरी दिइसकेकी छन्। धरानमा गोरु खाएको विषयले सामाजिक सञ्जाल तात्तिनुका साथै सडकमा आन्दोलनकै स्थिति सिर्जना हुँदा शान्त चितवनलाई उचाल्ने काम गरेको भन्दै उपाध्यायलाई कानुनअनुसार हदैसम्मको कारवाही गर्न पनि पूर्णिमायाले माग गरेकी छन्।
शान्त र सुरक्षित समाजलाई बिथोलेर अशान्ति मच्चाउने काममा लागेको भन्दै त्यस्ता व्यक्तिबाट अन्य व्यक्ति पनि पीडित हुन सक्ने हुँदा बेलैमा सचेत हुनुपर्ने पूर्णिमायाको भनाइ छ। तनहुँको देवघाटमा आफन्तको भोजमा जाँदा २०७८ साल फागुन ८ गतेको रमाइलो गरेको विषयलाई छोटो भिडियो बनाएर आफ्नो टिकटकमा पोष्ट गरेकी पूर्णिमायाको उक्त भिडियोलाई केही दिनअघि भीम उपाध्यायलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताले फोटो बनाएर ‘गोरु खाने धराने’ भनेर सार्वजनिक गरिदिएका थिए।
उक्त घटनापछि पूर्णिमायाले पटकपटक तस्बिर हटाउन आग्रह गरे पनि नसुनेपछि कानुनी उपचारकै बाटो अपनाउन बाध्य भएको उनले बताइन्। पूर्णिमायालाई न्याय दिलाउनका लागि चितवनमा रहेका गुरूङ समुदायको दुईवटा संस्थाले पनि साथ दिँदै आएको छ।
घटना बाहिर आइसकेपछि दुवै संस्थाबीच आइतबार बैठक बसेर आन्दोलनको बाटो अपनाएको ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले बताइन्। ‘भोलिका दिनमा तपाईँ हामीमाथि पनि यस्तो घटना हुन सक्छ। त्यसैले हामी अहिल्यैदेखि सचेत बन्नु आवश्यक छ,’ उनले भनिन्।
प्ये ल्हु संघ चितवनका अध्यक्ष लालप्रसाद गुरूङले भीम उपाध्यायविरूद्ध चितवनका गुरूङहरूले पहिलो चरणको आन्दोलनको थालनी गरेको बताए। यो आन्दोलनलाई प्रहरी र प्रशासनले वास्ता नगरे चरणवद्ध आन्दोलनका कार्यक्रम गर्दै जाने चेतावनी दिए।
उता भीम उपाध्यायले भने पूर्णिमायासँग टेलिफोन बार्तामार्फत समस्या समाधान गरिसकेको दाबी गर्दै आएका छन्। त्यसयता आफूले गल्ती गरेको स्वीकार गर्दै फेसबुकमा राखेको पोष्ट पनि हटाइसकेको बताएका छन्। उनले दुई पक्षबीच कुरा मिलिसकेको हुँदा तेस्रो पक्षलाई बीचमा नआउन समेत आग्रह गरेका छन्।
तर, पूर्णिमायाले भने फोनको भरमा माफी दिन नसक्ने भन्दै कानुनी बाटोमा अगाडि बढिसकेको बताउँदै आएकी छन्। ‘त्यतिका दिनसम्म सहेर बस्दा मेरो हालत के भयो होला भनेर ध्यान नपुर्याउनेलाई अहिले आएर फोनमा लम्पसार पर्दैमा माफी दिन सक्दिनँ,’ उनले भनिन्। वुद्धिजिवी क्षेत्रकै व्यक्तिबाट चरित्र हत्या होला भनेर कहिल्यै कल्पना नगरेको बताउँदै उनले थपिन्, ‘त्यसैले भीम उपाध्यायलाई जे गर्छ, कानुनले गर्छ।’
उनले यो विषय भीम उपाध्यायसँग जोडिएको विषय हुँदा घटनालाई तोडमोड गरी कुनै पनि जाति, धर्म र सम्प्रदायसँग नजोडिदिन पनि आग्रह गरेकी छन्। ‘मेरो लडाइँ एक जना व्यक्तिसँग हो। भीम उपाध्यायसँग हो। त्यसैले कुनै जाति, सम्प्रदाय र धर्मसँग होइन,’ उनले भनिन्।











