काठमाडौं। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एकजना विरामीको टाउकोको नसा फुटेको जटिल समस्याको शल्यक्रिया माइक्रोस्कोपको माध्यमबाट सफलतापूर्वक सम्पन्न गरिएको छ।
उक्त जटिल सर्जरी न्यूरो विभागका प्रमुख एवं वरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले गरेको हो। विराटनगरकै ४८ वर्षीया महिलालाई टाउको दुखेर बेहोस भएपछि परिवारले अस्पताल पुर्याएको थियो।
वरिष्ठ न्यूरो सर्जन डा. काफ्लेका अनुसार ब्रेन एन्युरिज्म क्लिपिङ एक प्रकारको माइक्रो सर्जरी हो जसमा मेटल सर्जिकल क्लिप मस्तिष्कमा फुटेको धमनी बन्द गर्न प्रयोग गरिन्छ। शल्य चिकित्सकले बिरामीको दिमागमा उपचार गर्न टाउकोमा सानो प्वाल बनाउँछ। यसरी माइक्रोस्कोपबाट सर्जरी गर्दा स्नायु, रक्त नली र मस्तिष्कको तन्तुलाई हानी नपुग्ने गरी माइक्रो सर्जरी गर्दा बिरामीलाई समेत छोटो समय अस्पताल बस्नु पर्ने र न्यूरो सर्जनलाई पनि काम गर्न सजिलो हुने गर्छ।
टाउकोभित्रको धमनी सुन्निने अवस्थालाई ‘एन्युरिज्म’ भनिन्छ। यस्तो अवस्थामा धमनीहरु फुटेका कारण सामान्यतयाः बिरामीहरु कोमामा जाने गर्छन्।











