चितवन । तथ्यांक कार्यालय चितवनले राष्ट्रिय जनगणना २०७८ को जिल्लास्तरीय नतिजा सार्वजनिक गरेको छ । कार्यालयले आज सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाका सात पालिकामध्ये रत्ननगरको जनघनत्व सबैभन्दा धेरै छ ।
यहाँको जनघनत्व एक हजार ३०९ जना प्रति वर्गकिमी रहेको तथ्यांक कार्यालय चितवनका प्रमुख यज्ञमुर्ती भण्डारीले बताए । भरतपुरको जनघनत्व ८५३ जना प्रति वर्गकिमी छ भने खैरहनीको ७८८ जना, कालिकाको ३५०, राप्तीको ३१५, माडीको १७५ र इच्छाकामनाको १६६ जना प्रति वर्गकिमी छ ।
जिल्लामा एक लाख ७९ हजार ३४५ परिवार रहेकामा एक लाख १७ हजार ९८४ अर्थात् ६५.७९ परिवारको घरमुली पुरुष रहेका छन् । बाँकी ६१ हजार ३६१ परिवारको घरमुली महिला रहेको पाइएको छ ।
‘पालिका अनुसार हेर्दा माडीमा सबैभन्दा धेरै अर्थात् ३८.८२ प्रतिशत परिवारमा महिला घरमुली छन् भने इच्छाकामनामा सबैभन्दा कम अर्थात् २६.६३ प्रतिशत परिवारमा महिला परिवारमुली रहेका छन्’, भण्डारीले भने । अक्सर विदेश बस्नेको संख्या पनि उच्च रहेको छ ।
जिल्लाका ६५ हजार ६४ जना नागरिक अक्सर विदेशमा बस्ने गरेको उनले बताए । त्यसमध्ये पुरुष ५० हजार ६५५ र महिला १४ हजार ४०९ जना छन् । ‘विदेशमा अक्सर बस्ने गरेको तर स्वदेश फर्किने प्रकृतिका मानिसलाई यसमा समेटिएको छ । उतै बस्नेगरी गएकालाई यहाँ समेटिएको छैन’, उनले भने ।
जनगणनाको नतिजाअनुसार जिल्लामा आफ्नो नाममा घरजग्गा दुवै नभएका महिलाको संख्या उच्च छ । तथ्यांक कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार ६९.७० प्रतिशत महिलाको आफ्नो नाममा घरजग्गा छैन । घरजग्गा दुवै आफ्नो नाममा भएका महिला १५.९९ प्रतिशत छन् । जग्गा मात्र भएका ११.२९ प्रतिशत, घरमात्र भएका १.९४ प्रतिशत र उल्लेख नभएका १.०७ प्रतिशत महिला छन् ।
जनगणना अनुसार ८६.१८ प्रतिशत परिवारमा स्मार्ट मोबाइल फोन पुगेको छ । ६८.४० प्रतिशत परिवारसँग साधारण मोबाइल फोन छ । कम्प्युटर/ल्यापटप २४.४७ प्रतिशत, इन्टरनेट सुविधा ५९.३५ प्रतिशत, टेलिभिजन ६४.४४ प्रतिशत, मोटरसाइकल/स्कुटर ४२.३१ प्रतिशत र कार/जीप/भ्यान ४.९९ प्रतिशत परिवारसँग रहेको तथ्यांक छ ।
त्यस्तै, साइकल ६०.०८ प्रतिशत, विद्युतीय पंख्या ८२.५५ प्रतिशत, फ्रिज ५४.६७ प्रतिशत, वासिङ मेशिन १०.४२ प्रतिशत र एयर कन्डिसनर २.३३ प्रतिशत परिवारमा भएको पाइएको तथ्यांक कार्यालयले बताएको छ ।











