काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सिपी गजुरेलले जनयुद्धकालीन घटनालाई नियमित अदालती प्रक्रियामा लिए प्रचण्ड मात्रै नभएर तत्कालीन सात राजनीतिक दलका नेताहरू पनि जिम्मेवार रहेको बताएका छन्।
शनिबार संवाद डबलीमा ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै गजुरेलले शान्ति प्रक्रियामा तत्कालीन विद्रोही नेकपा (माओवादी), सात राजनीतिक दल र राज्यबीच सहमति भएको र त्यसको अनुगमन संयुक्त राष्ट्र संघले अनमिनमार्फत गरेको तर अहिले माओवादीलाई मात्रै दोष दिइएको बताए।
उनले शान्ति प्रक्रियाको स्प्रिटअनुसार संक्रमणकालीन न्याय सम्पादन नहुनुमा प्रचण्डजत्तिकै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माधव कुमार नेपाल, बबुराम भट्टराई जिम्मेवार रहेको बताए।
गजुरेलले भने, “जनयुद्ध ठूलो क्रान्ति थियो, त्यहाँ धेरैको ज्यान जान्छ, हताहती हुन्छ, त्यो आपराधिक केस लगाएर हुँदैन, यो त शान्ति प्रक्रियाअनुसार सत्यनिरूपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउनुपर्छ।”
आफूहरू पीडितले न्याय चाँडो पाउनुपर्छ भन्नेमा भएको बताउँदै गजुरेलले अदालत १६ वर्षसम्म न्याय दिन नसक्नेतिर सोझिनुपर्थ्यो तर अदालतले न्याय दिने भन्दै फौजदारी बाटोमा समात्नु गलत भएको बताए। उनले प्रचण्डको भाषणलाई लिएर अदालतले गरेको आदेशबाट आफूहरु नतर्सेको तर साँचो भएको बताए।