काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपतिको निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई भोट दिने निर्णय गरेको छ। उपराष्ट्रपतिको निर्वाचनको मतदान जारी रहेका बेला रास्वपाले झालाई मत दिने जनाएको हो ।
रास्वपाका एक सांसदकाअनुसार ममता झालाई मत दिन संसदीय दलका नेता डोलप्रसाद अर्यालले सांसदलाई सर्कुलर गरेका छन् । उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, एमालेका अष्ठलक्ष्मी शाक्य र जनमतबाट झा प्रतिस्पर्धामा छन् । यादवले मत माग्दा रास्वपाले पुरुष उम्मेदवारलाई मत नदिने जवाफ दिएको थियो ।
यादवलाई मत नदिने जवाफ दिएको रास्वपाले शाक्यलाई मत दिने अनुमान थियो । तर मतदान चलिरहेका बेला रास्वपाले अन्ततः झालाई मत दिन सांसदलाई सर्कुलर गरेको छ । रास्वपाका १९ सांसद छन् । उसको मतभार १५०१ रहेको छ । राष्ट्रपतिको निर्वाचनमा रास्वपाले नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई मत दिएको थियो ।