भरतपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा विकृति र विसंगतिको चाङ रहेको बताएका छन् । प्रेस चौतारीको २५औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी चितवनले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै मन्त्री गिरीले जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्ने अवस्था अझै नबनेको स्वीकार गरे ।
‘नेपालमा सबैभन्दा बढि विसंगती र विकृतिको चाङ स्वास्थ्य क्षेत्रमा छ । तमाम गरिब जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने अवस्था आज छैन’, उनले भने, ‘पैसा नभएको कारणले अस्पतालसम्म जान नसकेको ठूलो हिस्सा छ । गाउँ गाउँमा मान्छेहरुले रोग पालेर बसेका छन्, दिदिबहिनीहरुको समस्या छ, हस्पिटलसम्म गएर उपचार गर्न सक्ने अवस्था छैन ।’
गुुणस्तरीय स्वास्थ्य सेवामा जनताको पहुँच नभएको उनले बताए । ‘गाउँमा एउटा स्वास्थ्य सिविर लिएर जाने हो भने एक दिनलाई भनेर गएको टोली विरामीहरुको लाइनले तीन चार दिनसम्म पनि फर्किदैन, यसले नेपालमा धेरै ठूलो स्वास्थ्यको समस्या भएको चित्रण गर्छ’, उनले भने ।
दुरदराजका जनतासम्म पनि गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने आफ्नो लक्ष्य रहेको बताउँदै उनले स्वास्थ्य बीमामार्फत सबै जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । ‘सातै प्रदेशमा सातवटा गुणस्तरीय सेवा सहितका अस्पतालहरु दिनेगरि हामी लैजानेछौँ । त्यहाँ, आइसियु लगायत अन्य सेवा अभिवृद्धि गनुपर्ने लगायतका भौतिक पुर्वाधारका कामहरुलाई विस्तार गरेर लैजानुपर्ने कामतर्फ हाम्रो ध्यान जानेछ’, उनले भने ।
गाउँपालिका र नगरपालिकामा आधारभुत अस्पतालहरुको भौतिक पूर्वाधार निर्माण गरेर गाउँ–गाउँमा स्वास्थ्य सेवा प्रवाह गर्ने उनले बताए । फरक प्रसंगमा बोल्दै मन्त्री गिरीले पत्रकारिता पेशा मर्यादित र सम्मानित भएको भन्दै भ्रष्टाचारका विरुद्ध निर्धक्क भएर कलम चलाउन आग्रह गरे ।
स्थापना दिवसको अवसरमा प्रेस चौतारी चितवनले अग्रज पत्रकार विष्णु छिमेकीलाई २० हजार रुपैयाँ राशीको डा शारदा–तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार २०७९ ले सम्मान गरेको छ । प्रेस स्वतन्त्रता, सूचनाको हक र चितवनको व्यवसायिक पत्रकारिताको संस्थागत विकासमा उल्लेखनिय योगदान पु¥याएको भन्दै छिमेकीलाई पुरस्कृत गरिएको प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिए । पुरस्कार बापतको रकम छिमेकीले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि सहयोग गरेका छन् ।












