चितवन। १५ औं संस्करणको चितवन महोत्सव २०८१ सकिएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा ‘चितवनको गौरव र गरिमामय प्रस्तुती’ मुल नारा दिएर पुष २५ बाट सुरु भएको महोत्सव विहिबार साँझ समापन गरिएको हो ।
महोत्सव मुल समिति संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले महोत्सवको समापन गर्दै महोत्सव ऐतिहासिक रुपमा सफल भएको बताए ।
महोत्सव अवधिभर ५ लाख जनाले सहभागिता जनाएको र ३० करोड बराबरको कारोबार भएको अध्यक्ष श्रेष्ठले जानकारी गराए । लक्ष्य अनुसार कै सहभागिता र कारोबार भएको भन्दै अध्यक्ष श्रेष्ठले समापन समारोहमा खुसी व्यक्त गर्दै महोत्सव सफल पार्न सहयोग पुर्याउने सम्पूर्णलाई धन्यावद ज्ञापन गरे ।
अवलोकनकर्ताहरुको चाप र महोत्सव परिसरभित्र निर्माण गरिएका र आयोजना गरिएका प्रबद्र्धनात्मक क्रियाकलापहरुमा अवलोकन कर्ताहरुको चासो र भिडभाडले आयोजकलाई रोमाञ्चित बनाएकोले आगामी दिनहरुमा पनि यस किसिमका महोत्सवहरु आयोजना गर्नका लागि थप उत्साहित बनाएको श्रेष्ठले बताए।
महोत्सवमा रोजगार मेला, हार्डवयर्स एक्सपो, मह परिसर, अटो परिसर, रेष्टुरेन्ट परिसर, फन पार्क, चाईना एक्सपो, लघु, घरेलु परिसर, कृषि परिसर लगायत ४३० स्टलहरु रहेका थिए । बिगतका १४ वटा महोत्सवहरुलाई तुलना गर्दा यस पटकको महोत्सव पृथक बनेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।
महोत्सव अवलोकनकर्ता र प्रदर्शकबाट संकलन गरेको पृष्ठपोषण फर्मलाई अध्ययन गर्दा करिव ९० प्रतिशत अवलोकनकर्ताहरु महोत्सवमा भएका क्रियाकलापहरुबाट पूर्ण सन्तुष्टि भएको पाइएको श्रेष्ठले जानकारी गराए ।
चितवन जिल्लालाई विविधता र समृद्धिको भूमिको रुपमा विकास गर्ने अभिलाषा र सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान गराउने लक्ष्यका साथ आयोजित चितवन महोत्सव २०८१ ले आफ्नो उद्देश्य प्राप्तिमा सफल रहेको महसुस भएको उनी बताउँछन् ।
चितवन महोत्सव २०८१ मा प्रतियोगितात्मक कृषि प्रदर्शनी, हस्तकलाका उत्पादन, साना तथा लघु, घरेलु उत्पादनको प्रदर्शनी, औद्योगिक प्रदर्शनी, अटोमोवाईल्स प्रदर्शनी, अर्गानीक उत्पादनको प्रदर्शनी, महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनी, रमाइलो मेला, कृषि , शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधि बिषयमा राष्ट्रिय स्तरका छुट्टाछुट्टै सेमिनार तथा गोष्ठी, साहित्यिक गोष्ठी, खेलकुद प्रतियोगिता, दैनिक स्वास्थ्य शिविरको आयोजना गरिएको अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी गराए ।
चितवन महोत्सवमा आयोजित विभिन्न गोष्ठीमा प्राप्त सुझाव र पहिलाएका सम्भावनाहरुलाई छिट्टै नै सम्बन्धित निकायमा संप्रेषण गरिने अध्यक्ष श्रेष्ठले बताएका छन् ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले स्वदेशमा उद्योगहरुको विस्तार गरी स्वदेशमै वस्तुहरु उत्पादन गर्नुुपर्ने आजको आवश्यकता रहेको बताए । जसका लागि देशमा उद्योग व्यवसायमैत्री वातावरण बनाउनु पर्ने र त्यसका लागि प्रदेश सरकार लागिरहेको बताए । महोत्सवले स्वदेशी र स्थानीय उत्पादनको प्रवद्र्धन र बाजारीकरणमा सहयोग पुर्याउनुपर्ने बताउँदै मुख्यमन्त्री लामाले चितवन महोत्सव पनि यस कुरामा सफल बनेको होला भनि विश्वास व्यक्त गरे ।