भरतपुर । गणेशधाम संरक्षण सम्वर्द्वन समितिको नवौँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
बागमती प्रदेशको वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले गणेशधाम धार्मिक पर्यटकिय स्थलको हिसावले महत्वपूर्ण स्थान भएको बताए । गणेशधामको संरक्षण एवम् विकासका लागि सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता पनि व्यक्त गरे । आगामी आर्थिक वर्षको बजेटमा गणेशधामलाई प्राथमिकतामा राखिने उनले बताए ।
गणेशधाम संरक्षण सम्वर्द्वन समितिका अध्यक्ष दिनेश कुमार चुकेले गणेशधामको गुरुयोजना स्वीकृत हुन बाँकी रहेको भन्दै गणेशधामलाई २८ हेक्टरमा विस्तार गर्ने योजना रहेको बताए । गुरुयोजना पास गराउन आवश्यक सहयोग गर्न उनले आग्रह पनि गरे । गणेशधामको संरक्षक एवम् बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीको पहलमा गणेशधामको लागि बागमती प्रदेश सरकारले आठ करोड रुपैयाँ प्राप्त भएको उनले बताए । गणेशधाममा आकर्षक तलाउ बनाउन बाँध निर्माणको काम भइरहेको उनले जानकारी दिए ।
समितिका महासचिव सन्तोष पन्तले प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष रेशमलाल सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा गणेशधामको संरक्षक एवम् बागमती प्रदेशका पूर्वमन्त्री सुवेदी, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, चितवन जिल्ला प्रहरी प्रमुख गौतम मिश्र, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, भरतपुर–११ का वडा अध्यक्ष कमल बहादुर मल्ल लगायत सहभागी थिए ।












