चितवन । चितवनको भरतपुर महानगरपालिका–१० मा रहेको बोस्टन इन्टरनेसनल कलेजमा तीनदिने ‘बिआइसी ह्याकाथन भर्सन–४’ सम्पन्न भएको छ । बोस्टन सेन्टर फर इन्फरमेसन एन्ड टेक्नोलोजीले पुस ३ देखि पुस ५ गतेसम्म सञ्चालन गरेको चौंथो संस्करणको ह्याकाथनमा युनाइटेड टेक्निकल कलेज (युनाइटेड टेक क्लब)को टोलीले ग्राउन्ड ब्रेकिङ परियोजना प्रस्तुत गरी प्रथम अवार्ड दाबी गरेको छ ।
ग्राउन्ड ब्रेकिङ परियोजनाको समाधानले यसको नवीनता, स्केलेबिलिटी र विश्व प्रभावको साथ निर्णायकहरुलाई प्रभावित गर्दै ५० हजार रुपैयाँ पुरस्कारसहित रनिङ शिल्ड, गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै, द्वितीय अवार्ड इनोभेटिभ आइडिया अवार्ड टिम भिजन (अरोमा इङ्लिस बोर्डिङ स्कुल)ले हासिल गर्दै २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यसैगरी, तृतीय स्थानको अवार्ड उत्कृष्ट टेक्नोलोजी अवार्डबाट सिक्दै जाऔँ (फोब्स कलेज)ले हासिल गरी १० हजार पुरस्कार प्राप्त गरेको छ । यस वर्षको ह्याकाथन प्रतिभा, लगनशीलता र नवीनताको उत्सव भएको र १७वटै टोलीले देखाएको जोश र चतुरता साच्चै प्रेरणादायी रहेको कार्यक्रमको कम्युनिकेशन अफिसर सिवाकोटीले बताए ।
समापन मन्तव्य राख्दै बोस्टन इन्टरनेसनल कलेजका कलेज चिफ आनन्दबहादुर चन्दले चौथो ह्याकाथन सफलतापूर्वक सम्पन्न गरिएको र ह्याथनबाट सूचना प्रविधिमा नवीनतम प्रविधिको अभ्यास गर्दै विद्यार्थीहरुले निर्माण गरेको एप्लिकेसन बजारमा लैजाने प्रतिबद्धता व्यक्त गरे । प्रतियोगिताका निर्णायकहरुमा सुवास खतिवडा, दिनेश पण्डित र सुरजप्रसाद घिमिरे रहेका थिए ।












