चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा दोस्रो संस्करणको ‘कृषि प्रदर्शनी तथा कृषक मेला– २०८१’ सुरु भएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकाय परिसरमा आजबाट मेला सुरु भएको हो । मेलाको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले उद्घाटन गरे । आजबाट आगामी पुस ३ गते अर्थात ५ दिनसम्म मेला चल्ने छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिलवालले रैथाने बाली संरक्षणमा जोड दिन यो प्रदर्शन सफल बनोस् भनि शुभकामना दिए । बागमती प्रदेश माछा, ब्रोइलर कुखुरा र दुधमा करिब आत्मनिर्भरको अवस्थामा पुगेको बताउँदै मन्त्री सिलवालले अब अन्नबालीमा आत्मनिर्भर बनाउन मन्त्रालयको ध्यान रहेको बताए । उनले कृषि मेलाको अवलोकन गरी यसको लाभ लिन चितवनसहित यस आसपासका किसानहरुलाई आह्वान गरे ।
मेला आयोजक सचिवालय संयोजक एवं विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्राडा ऋषिराम कट्टेलले किसानको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए ।
उनका अनुसार कृषि प्रदर्शनी तथा कृषक मेलामा कृषि, पशु व्यवसाय तथा भेटेरीनरी र वन क्षेत्रका गरी ९६ स्टल रहेका छन् । साथै १० हजार भन्दा बढी सहभागीहरु र २०० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । किसान, शिक्षाप्रेमी, बुद्धिजीवी, विद्यार्थी, उद्यमी व्यवसायी र सरोकारवाला सबैको सहभागिता हुने अपेक्षा आयोजकको छ ।
मेलामा कृषि प्रविधि, नवप्रवर्तन तथा अनुसन्धानका विषयमा समेत छलफल हुनेछ । मेलामा किसानलाई आवश्यक पर्ने नयाँ प्रविधिको प्रदर्शनी गरिनुका साथै किसानले अवलम्बन गरेका प्रविधि, सीप तथा ज्ञानको विषयमा समेत छलफल हुने उनले बताए ।
मेलामा कृषि क्षेत्रको नीतिगत बहस, कृषि रुपान्तरणका विषयमा कृषि उद्यमी तथा सरोकारवालासँग छलफल, दिगो पशुपालन भेटेरीनरी सेवा तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन लगायतका विषयमा पनि समूहगत छलफल हुनेछ ।