भरतपुर । भरतपुर–१२ स्थित ग्रीनल्यान्ड पब्लिक स्कुल ३० औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा स्कुलले केही दिनसम्म विविध कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको छ । जसअन्तर्गत स्कुलमा ३० औँ वार्षिकोत्सव तथा दोस्रो एमआई पिबिएल मेला सम्पन्न भएको छ । सोही दिन अभिभावक दिवस पनि सम्पन्न भएको स्कुलका सहप्राचार्य उपेन्द्र आचार्यले जानकारी दिए ।
वार्षिकोत्सवमा आयोजित दोस्रो एमआई पिबिएल मेलामा विद्यार्थीहरुले तयार पारेका वस्तुहरु प्रदर्शनीमा राखिएको थियो । स्कुलले हरेक हप्ता ‘बुक फ्रि डे’ गर्दै आएको छ । मेलामा बुक फ्रि डेमा विद्यार्थीहरुले तयार परेका वस्तुहरु प्रदर्शन गरिएको सहप्राचार्य आचार्यले बताए ।
यस्तै, वार्षिकोत्सवकै अवसरमा फुड फेस्टिबल पनि आयोजना गरिएको थियो । जसमा विद्यार्थोहरु आफैँले खानाका परिकारहरु तयार पारी बिक्री गरेका थिए । यसले विद्यार्थीहरुलाई व्यापार, व्यवसायसँगै जीवनउपयोगी सीप सिक्न पनि मद्दत मिल्ने स्कुलकी प्राचार्य इन्दिरा पन्त कार्कीको भनाइ थियो ।
स्कुलले वार्षिकोत्सवको अवसरमा यसअघि अन्तरविद्यालय हाजिरजवाफ प्रतियोगिता तथा विज्ञान प्रदर्शनी आयोजना गरेको थियो । कार्यक्रम भरतपुर महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख सुभाष आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा भरतपुर–१२ का वडाध्यक्ष लेखराज पन्त (हरि), प्याब्सन चितवनका अध्यक्ष कृतिनिधि अर्याल, मेट्रो प्याब्सनका अध्यक्ष मिनराज बस्ताकोटी, प्याब्सन केन्द्रीय सदस्य मोहन लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्कीलगायतको सहभागिता रहेको थियो । सहभागी अतिथिहरुले मेला र फुड फेस्टिबलको अवलोकन पनि गरेका थिए ।