काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई रातारात एक ठाउँबाट अर्को ठाउँमा सारिनु मानवअधिकारको उल्लंघन भएको बताएकी छन्।
लामिछानेमाथि सरकारले गरेको व्यवहार लज्जाजनक भएको उनले बताइन् । आज काठमाडौँमा आयोजित ‘संविधान संशोधन अग्रगामी कि पश्चगामी’ नामक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले हिरासतमा राखेका लामिछानेलाई २–२ दिनमा अदालत बदल्दै हिँडाउनु र राति सुतिरहेको वेला उठाएर हिँडाउनु पनि मानवीयता नभएको स्पष्ट पारेकी छन्।
उनले भनिन्‚ ‘एउटा मान्छेलाई २–२ दिनमा अदालत परिवर्तन गराइरहेको छ। हाजिर गराइरहेको छ एउटै मान्छेलाई। त्यो मान्छेको मानवअधिकार कहाँ गयो ? प्रत्येक दिन कहिले राति उठाएर निद्रामै कुदाएको छ, कहिले चाहिँ सुतिरहेको मान्छेलाई उठाएर हिँडाएको छ‚ कुदाएको छ। यो अड्डामा हाजिर गराको छ‚ त्यो अड्डामा हाजिर गरा छ।’
सरकारले लामिछानेको मानवअधिकार हनन हुने गरी काम गरिरहेको पनि स्पष्ट बताइन्।
अदालतमा मुद्दा नआइपुग्दासम्म अदालतले केही गर्न नमिल्ने पनि उनको तर्क थियो। न्यायालयले उचित न्याय दिने उनको कथन छ। अपवादमा कोही न्यायाधीशलाई छोडेर सबै न्यायाधीशले न्याय दिने उनले बताइन्।