चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि ज्यादती गरेको बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर कमिटीले आज आयोजना गरेको खबरदारी सभामा बोल्दै प्रचण्डले रविको मानव अधिकार हनन भएको बताए । यसले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेलाई चर्काे पर्ने उनले बताए ।
रविलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्ने कांग्रेस–एमालेले नै उनलाई ठूलै अपराधी जसरी मध्यरातमा आतंकित पार्ने काम गरिएको प्रचण्डले बताए । ‘प्रधानमन्त्री बनाउन प्रस्ताव गर्ने यीनीहरु अहिले मानौँ महान अपराधी फेला पारियो भने जसरी रविलाई मध्यरातमा आतंकित पार्दै एकठाउँमा अर्काे ठाउँमा सारेका छन् । यसको मूल्य एमाले र कांग्रेसालाई धेरै चर्काे पर्नेछ’, उनले भने ।
कांग्रेसको प्रधानमन्त्रीको अफर अस्वीकार गरेका रविले सहकारी प्रकरणमा दोषी दखिए कारबाही भोग्न तयार छु भनेपछि एमाले र कांग्रेस मिलेर उनलाई आतंकित बनाउने प्रयास गरेको उनले बताए । आफु प्रधानमन्त्री हुँदा सहकारी ठगी प्रकरणमा रविको कुनै संलग्नता नभएको बताएका प्रहरी प्रमुखहरुले रविलाई महान अपराधी जसरी व्यवहार गरिनु न्यायोचित नभएको उनको भनाई थियो ।