चितवन। भरतपुर–१२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ । ग्रीनल्याण्ड पब्लिक स्कुलको ३०औं वार्षिकोत्सवको अवसरमा आयोजित विविध कार्यक्रम अन्तर्गत आज विज्ञान प्रदर्शनी सम्पन्न भएको हो ।
विद्यालय प्राङगढमा आयोजित कार्यक्रममा अर्बिट ईंग्लिश बोर्डिङ स्कुल प्रथम भएको छ । यस्तै लिटल फ्लावर ईंग्लिश बोर्डिङ स्कुल दोस्रो हुँदा सनराईज ईंग्लिश बोर्डिङ स्कुल तेस्रो भएको छ । प्रदर्शनीमा गोल्डेन फ्युचर स्कुलले सान्त्वना स्थान हासिल गरेको ग्रीनल्याण्डका सह प्राचार्य उपेन्द्र आचार्यले जानकारी दिए ।
प्रदर्शनीमा चितवनका १५ संस्थागत विद्यालयहरु सहभागी थिए । ती विद्यालयका विद्यार्थीहरुले तयार पारेका प्रोजेक्टहरु प्रदर्शनीमा देखाईएको थियो । यस प्रदर्शनीले विद्यार्थीहरुको हौसला बढाउन सहयोग पुग्ने विद्यालयकी प्राचार्य ईन्दिरा पन्त कार्कीले बताइन् । विद्यार्थीले विज्ञान सम्बन्धी दक्षता हासिल गर्न सक्षम बनुन् भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको प्राचार्य कार्कीको भनाइ थियो ।
कार्यक्रममा वैज्ञानिक शोधकर्ता डा खेम आचार्य प्रमुख अतिथि रहेका थिए । यस किसिमको क्रियाकलापले गुणस्तरीय शिक्षामा सहयोग पुग्ने उनको भनाइ थियो । कार्यक्रम स्कुलकी प्राचार्य ईन्दिरा पन्त कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । स्कुलले यस अघि आइतबार अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको थियो ।