चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट रातारात पोखरा लगिएको विषयमा मुख खोलेका छन् । उनले गृहमन्त्रालयप्रति सन्तुष्ट हुन नसकिने बताएका छन् ।
आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले भने, ‘रवि लामिछानेलाई मात्रै होइन, कुनै पनि व्यक्तिमाथि त्यस्तो किमिको हर्कत देखाउनु भनेको मानवअधिकारको उल्लङ्घन हो। कुनै पनि व्यक्तिमाथि त्यो तहसम्मको गलत काम गर्नु हुँदैन।’
लोकतान्त्रिक देशमा सुरक्षा दिन गाह्रो भो भनेर राति १२ बजे उठाएर लैजानु गलत भएको उनको भनाइ छ। ‘अदालतले आफ्नो काम गरिरहेको छ। त्यसमा मलाई केही भन्नु छैन। तर, बयानको लागि प्रहरीमा ल्याइएका एक जना व्यक्तिलाई राति १२ बजे उठाएर लैजानु मानवअधिकारको उल्लङ्घन मात्रै होइन, अमानवीय व्यवहार हो,’ डा कोइरालाले भने, ‘लोकतान्त्रिक देशमा त्यस्तो हुँदैन। सुरक्षा दिन गाह्रो भो भनेर उम्किन पाइँदैन।’