भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले रातो क्रान्तिमा जाने चेतावनी दिएका छन् । पार्टीको भक्तपुर जिल्लाको ऐतिहासिक प्रथम जिल्ला भेलाका विषयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनका उनीहरुले यस्तो चेतावनी दिएका हुन् ।
रास्वपा भक्तपुर जिल्लाका संयोजक रामेश्वर बस्नेतले आफूहरुको क्रान्ति निलो क्रान्ति भएको तर यही तरिकाले पार्टीमाथि दमन भइरहे आफूहरुको क्रान्ति निलोबाट रातोमा जाने चेतावनी दिए । उनले जिल्ला भेला शुद्ध भेला मात्र नभई आन्दोलनसमेत भएको बताए ।
भक्तपुरमा चार वटा नगरपालिकाहरु भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायण छन् । ती नगरपालिकाहरुमा कुल ३८ वटा वडाहरु छन् । भेलामा एउटा वडाबाट पार्टीमा आधिकारिक रुपमा आवद्ध मात्रै घटीमा ५० जना सहभागी हुने जिल्ला सभापति बस्नेतले दावी गरे ।
भेलालाई पार्टीका उपसभापति डिपी अर्याल, नेताहरु सोविता गौतम, सन्तोष परियारलगायतले सम्वोधन गर्ने जनाइएको छ । सम्मेलनमा युवा नेता साजन विकले पार्टी सभापति रवि लामिछानेलाई समाप्त पार्न सरकार लागि परेको भन्दै एक जना रविलाई सकाउन खोज्दा रास्वपामा हजारौं रविहरु जन्मिसकेको बताए ।