चितवन । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)सँगको सहकार्यमा ‘नेचर बेस सोलुसन–द ट्रिपल बेनिफिट प्रोग्राम’ परियोजना सञ्चालन गरिरहेको सामाजिक संस्था सहमतिले खानेपानी उपभोक्ता समितिलाई क्षमता अभिवृद्धि तालिम दिएको छ ।
संस्थागत सुदृढीकरण, लैङ्गिक समानता, समतामूलक बाँडफाँटमा समितिलाई क्षमता अभिवृद्धि तालिम दिइएको हो । तालिममा पिठुवा, जुटपानी, पदमपुर र रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका प्रतिनिधि सहभागी थिए ।
नवलपुर खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन)का अध्यक्ष खिमानन्द भुसालले सहभागीलाई प्रशिक्षण दिएका हुन् । उपभोक्ता समितिको विधानबारे बहस गर्दा लैङ्गिक समानताको विषयलाई पनि प्राथमिकता दिनुपर्ने उनले बताए । संस्थाको विधान, तालिम अवसर र कर्मचारी छनोटमा समावेशिता र लैङ्गिक समानता कार्यान्वयन गर्न उनले सुझाव दिए । समावेशी समितिलाई काम गर्न सहज पनि हुने उनले बताए ।
मानव शरीरका लागि खानेपानीको महत्वबारे बोल्दै भुसालले खानेपानीकै कारण उपभोक्ता बिरामी भएमा समितिले क्षतिपूर्तिसमेत दिनुपर्ने बताए । समावेशीकरणसम्बन्धी संवैधानिक व्यवस्था, सुरक्षित पानी र खानेपानी सुरक्षा योजनाको मह¤व, संस्थागत प्रबन्धलगायतका विषयमा उनले प्रशिक्षण दिएका थिए ।
‘नेचर बेस सोलुसन–द ट्रिपल बेनिफिट प्रोग्राम’ परियोजनाका बारेमा सहमतिका परियोजना संयोजक खेमराज खनालले जानकारी गराए । सहमतिका उपाध्यक्ष नगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीलगायत सहभागी थिए । स्थानीयलाई जीविकोपार्जनमा जोड्दै जलाधार क्षेत्रको संरक्षणमा सहमतिले योगदान दिँदै आएको छ ।