काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता तथा पूर्वमन्त्री जितेन्द्र सोनालले चिनियाँ विकास परियोना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को अनुदान लिँदा पनि सशंकित हुनुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् । उनले बीआरआईबाट नेपाल र नेपाली सशंकित हुनुपर्ने बताएका हुन् ।
‘चिनियाँ पक्षबाट बेलाबखत कुरा आउँछ, पोखरा एयरपोर्ट पनि बीआरआईको पार्ट हो भने आइरहेको छ । यो खतरनाक कुरा हो । यस्ता कुराबाट देश बच्नुपर्छ । बीआरआईको बारेमा श्रीलङ्कामा जसरी उसको गतिविधि हेरियो, त्यसबाट नेपाल सशंकित छ, हामी सशंकित छौं,’– उनले भने ।
उनले एउटा नागरिकको टाउकोमा ८६ हजार ऋण रहेको स्मरण गराउँदै बीआरआईअन्तर्गतको ऋण फेरि थुपार्न नहुने बताए । बीआरआई नेपालको हितमा नरहेको उनको दाबी छ । ‘हाम्रो पार्टी र यो देशको हितमा बीआरआईको ऋण छैन, यो लिन हुँदैन । अनुदान पनि हामीले धेरै गम्भीरतापूर्वक छलफल गरेर लिनुपर्छ । अनुदान र दिएको सहयोगको नियत के हो ? गम्भीर छलफल नगरी सहयोग पनि लिन हुँदैन,’– उनले भने ।
बीआरआई नेपालको आवश्यकता भन्दापनि चीनको रणनीतिक योजना रहेको उनको दाबी छ । व्यापकमात्रामा बहस र छलफल चलाएरमात्रै यो विषयमा निर्णय लिनुपर्ने उनको सुझाव छ । अहिले नेपालमा रहेका सबै चिनियाँ प्रोजेक्टहरु बीआरआईअन्तर्गतका हुन् भनेर भ्रम फैलाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । यदि चिनियाँ प्रोजेक्टहरु सबै बीआरआईअन्तर्गत हुन भने यो खतरनाक हुने उनको भनाइ छ ।