चितवन । मैयादेवि श्रेष्ठ महिला ट्रयाङ्गुलर सिरिजको उपाधि नवलपरासीले जितेको छ । चितवनको माडी नगरपालिका १ स्थित बरुवा खेल मैदानमा मंगलबार सम्पन्न महिला टि–ट्वान्टी क्रिकेट सिरिजको फाइनल खेलमा नवलपुरलाई ५७ रने हराउँदै नवलपरासीले उपाधि हात पारेको हो ।
सुरुवतमा ब्याटिङ् गरेको नवलपरासीले निर्धारित २० ओभरमा ९९ सय रन बनाउन सफल भयो । १०० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ्मा उत्रिएको नलवलपुर ११.२ ओभरमा ४२ रन बनाउँदै अल आउट हुन पुग्यो ।
नवलपरासीका उत्कृष्ट बलरहरुका सामु नलवपुरका ब्याटरहरुको ब्याट चल्न सकेन । फलतः ५७ रनले पछि हुँदै नवलपुर त्रिकोणात्मक (ट्रयाङ्गुलर) सिरिजको उपविजेतामै सिमित हुन पुग्यो ।
प्लेयर अफ द सिरिज र बेस्ट ब्याट्स म्यानको उपाधि नवलपरासीकी श्रुती बुढाथोकी, बेस्ट बलरको उपाधि नवलपरासीकी सरस्वती पुन र प्लेयर अफ द म्याच नलवपरासीकै सुमिना नेपाली हुन सफल भइन् ।
मंसिर ११ गते सोमबारबाट सुरु भएको खेलमा चितवन, नवलपुर र नवलपरासीको सहभागिता रहेको थियो ।
मैयादेवी ट्रष्टको मुख्य सहयोग, सेन्ट्रल कलेजसहित अन्य विभिन्न संघसंस्थाको सहयोगबाट चितवन जिल्ला क्रिकेट संघले यस क्रिकेट सिरिज आयोजना गर्न सफल भएको भन्दै क्रिकेट संघका अध्यक्ष सुदिप पियाले सहयोगी संस्थाहरुप्रति आभार प्रकट गरे । उनले माडीमा क्रिकेटको विकास गर्ने उद्देश्यले यस ठाउँमा पहिलो पटक यति ठूलो क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए ।
पुरस्कार वितरण कार्यक्रममा कार्यक्रममा माडी नगरपालिका प्रमुख तारा कुमारी काजी महत्तोले माडीमा ल्याएर क्रिकेट प्रतियोगिता गरिदिएकोमा आयोजकप्रति आभार प्रकट गरिन् । उनले माडीमा खेलकुद्को विकासमा यस्ता खाले प्रतियोगिताले सहयोग पुर्याउने बताइन् ।
मैयादेवी ट्रष्टका सचिव टंकनाथ पौडेलले मैया देवि श्रेष्ठले समाजमा पुर्याएको योगदानको स्मरण गर्दै ट्रष्टले शिक्षा, स्वास्थ्य, खेल्कुद लगायतको क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । पुरस्कार वितरणको अवसरमा माडी १ बरुवाको स्टार स्पोर्ट क्लवलाई ट्रष्टले फुटबल सामग्री समेत सहयोग गरेको थियो ।