चितवन । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले पूर्वी चितवनमा सेवा विस्तार गरेको छ । कम्पनीले मंगलवार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिका–२ स्थित सुब्बा चोकमा आफ्नो ३६औँ शाखाको उद्घाटन गरेको हो ।
शाखा कार्यालयको उद्घाटनपछि बोल्दै वाईफाई नेपालका सेल्स अधिकृत हरि गुरुङले कम्पनीले बिशेषगरी घरायसी तथा न्यून आय भएका सेवाग्राहीलाई लक्षित गरी सेवा विस्तार गरेको बताए । ‘इन्टरनेटको सहज पहुंँच र न्यून आय भएका सेवाग्राहीलाई लक्षित गर्दै सेवा विस्तार गरेका हौं’, गुरुङले भने । यहांँका ग्राहकलाई छिटो छरितो र गुणस्तरीय सेवा दिन रत्ननगरमा सेवा विस्तार गरेको उनको भनाई छ ।
वाईफाई नेपालका युनिट इन्चार्ज संगम परियारले ग्राहकको माग र आवश्यकता अनुसार घरमै सेवा र सपोर्ट दिन थप शाखा सञ्चालनमा ल्याइएको बताए । ‘हामीले इन्टरनेट जडानपछि पनि सेवा र सपोर्ट नियमित दिनुपर्ने हुन्छ । यहाँ अफिस भएपछि ग्राहकलाई थप सहज हुनेछ भन्ने हाम्रो अपेक्षा हो । यसअघि शाखा नभएका क्षेत्रमा वल्र्डलिंकको सहकार्यमा सेवा दिने गरिएको थियो’, उनले भने ।
कम्पनीले हाल तराईका जिल्ला, मुख्य शहर र साना शहरहरुमा केन्द्रित गरी सेवा विस्तार गरिरहेको कम्पनीले बताएको छ । कम्पनीले हाल ईन्टरनेट सेवा मात्र दिने गरेको छ । ‘हामीले अहिले ५० एमबीपिएस क्षमताको बार्षिक छ हजार २१५ रुपैयाँ राखेका छौँ । यसमा एक महिना थप बोनस पनि पाइन्छ । ८० एमविपीएस क्षमताको ८४७५ रुपैयाँ रेट राखेका छौँ’, उनले भने, ‘यो शुल्क नेपालमा सम्भवत कुनै पनि आइएसपीको छैन ।’
कम्पनीले यो अफरमा एउटा घरमा छ जनासम्मले कुनै अवरोध विना ईन्टरनेट चलाउन सकिने परियारको भनाई छ । एक वर्ष अघि भरतपुरमा शाखा सञ्चालनमा ल्याएको कम्पनीले मंगलवारबाट रत्ननगरबाट सेवा सञ्चालनमा ल्याएको हो । भरतपुरमा मात्रै वाईफाई नेपालको एक हजार ४०० ग्राहक छन् भने रत्ननगरमा ३५० जना ग्राहक छन् । नेपालभर ४८ वटा जिल्लामा सेवा विस्तार रहेको र ४१ हजार ग्राहक रहेको कम्पनीले जानकारी दिएको छ ।












