–कुलप्रसाद काफ्ले
भरतपुर । नारायणगढको पुलचोकस्थित हङ्ग्री टम रेष्ट्रो एण्ड बारलाई जिल्ला प्रशासन कार्यालय चितवनले एक लाख रुपैयाँ जरिवाना तिराएको छ । खाजा खाएर नौ जना भन्दा बढी विरामी भई उपचारको लागि अस्पताल भर्ना हुनुपरेपछि रेष्टुरेन्ट सिल गरिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माका अनुसार रेष्टुरेन्ट सञ्चालकलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको छ । ‘हङ्ग्री टम रेष्टुरेन्टलाई उपभोक्ता संरक्षण ऐन अनुसार एक लाख रुपैयाँ जरिवाना तोकिएको छ’, उनले भने । त्यस्तै, रेष्टुुरेन्टको खाजा खाएर विरामी भएकाहरुलाई उपचार गर्दा लागेको खर्च दिने विषयमा पनि रेष्टुरेन्ट सञ्चालकसँग कबुलियतनामा भएको छ ।
खाजा खाएर विरामी भएको उजुरी प्राप्त भएपछि संयुक्त अनुगमन टोलीले सोमवार साँझ रेष्टुरेन्टको अनुगमन गरी किचन सिल गरेको थियो । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बुधवार रेष्टुरेन्ट सञ्चालक विमल रिजालसँग बयान लिएका थिए । बयान लिएपछि रेष्टुरेन्टको किचन एक हप्ताभित्र सुधार गर्न निर्देशन दिएको प्रजिअ थापाले जानकारी दिए । ‘सात दिनभित्र किचनमा सुधार गरी पूर्वाधार तयार गर्न निर्देशन भएको छ । त्यसपछि हामीले अनगुमन गरी सुधार भएको पाइए रेष्टुरेन्ट सञ्चालन गर्न आदेश दिन्छौँ’, उनले भने ।
रेष्टुरेन्टको सोमवार अनुगमन गर्दा किचनमा प्रयोग भइरहेको तेल न्युन गुणस्तरको र फ्रिज भित्रको चिस्यान मापदण्ड अनुसार नभएको पाइएको थियो । त्यस्तै, किचन भित्रको सरसफाई र पानी ट्यांकीको सफाई सन्तोषजनक नभएको भेटिएको थियो । ‘रेष्टुरेन्ट सञ्चालकले सात दिनभित्र सुधार गर्छु र पीडित पक्षलाई बिल अनुसारको क्षतिपूर्ती दिन्छु भन्नुभएको छ । त्यसको कबुलियतनामा गराइएको छ’, उनले भने ।