–कुलप्रसाद काफ्ले
भरतपुर । नारायणगढको पुलचोकस्थित हङ्ग्री टम रेष्ट्रो एण्ड बारको खाजा खाएका ग्राहकहरु विरामी भएका छन् । खाजा खाएर विरामी भएकाहरु भरतपुर सामुदायिक अस्पतालमा भर्ना भएका छन् । हङ्ग्री टम रेष्ट्रोको खाजा खाएर विरामी भएको उजुरी प्राप्त भएपछि अनुगमन टोलीले सोमवार साँझ रेष्टुरेन्टका दुई वटा किचनमा सिल गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माको संयोजकत्वमा गएको संयुक्त अनुगमन टोलीले अर्काे आदेश नहुँदासम्मको लागि किचन सञ्चालनमा रोक लगाएको हो । अनुगमनका क्रममा किचनमा प्रयोग भइरहेको खानेतेलको टिपिएम भ्यालु अधिकतम २५ युनिट हुनुपर्नेमा औसतमा ४५ युनिट पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख सौरभ श्रेष्ठले बताए । उक्त तेल गुणस्तरहीन ठहर भएपछि नष्ट गरिएको उनले बताए ।
त्यस्तै, मासुजन्य पदार्थको लागि फ्रिजको तापक्रम माइनस १८ डिग्रि सेल्सियस हुनुपर्नेमा होटलमा प्रयोग भइरहेका चार वटा फ्रिजको तापक्रम तीन डिग्रि सेल्सियस भन्दा माथि भएको पाइएको उनले जानकारी दिए । एउटा फ्रिजको तापक्रम २१ डिग्रि सेल्सियस देखाएको थियो ।
गैंडाकोट नगरपालिका–७ बस्ने सुनिता लामाले जेठ ९ गते बुधवार हङ्ग्री टम रेष्टुरेन्टमा गएर मम, पिज्जा र चिकन आइटम खानेकुरा खाएकी थिइन् । उनले छोराछोरीको लागि भनेर मम र चिकन ललिपप प्याकिङ गरेर घर लगिन् । ‘हङ्ग्री टमबाट खाजा ल्याएर खाएको बेलुका बाबुनानीले खाना खान मानेनन् । भोलिपल्ट बिहानबाट चाँही छोराले पेट दुख्यो, आज स्कुल जान्न भन्यो’, उनले सुनाइन्, ‘त्यो दिन बुद्ध जयन्ती भएकाले छुट्टि पनि थियो । त्यो दिन हामी तीनै जनालाई वान्ता सुरु भयो ।’
वान्ता भए लगत्तै छोराछोरीलाई पखाला लाग्ने र ज्वरो आउने समस्या भएको उनले बताइन् । उनले त्यसदिन स्थानीय फार्मेसीबाट औषधी ल्याएर खाइन् । औषधीले पनि सञ्चो नभएपछि जेठ ११ गते भरतपुर सामुदायिक अस्पताल पुगेको उनले जानकारी दिइन् । ‘रगत र दिसा परीक्षण गर्दा ब्याक्टेरिया फैलिएको थाहा पायौँ । अनि जेठ १२ गते अस्पताल भर्ना भयौँ’, उनले भनिन् । उनीहरु भर्ना भएको अस्पतालमा हङ्ग्री टमबाट खाजा खाएर विरामी भएका अन्य व्यक्तिहरु उपचाररत थिए ।
भरतपुर महानगरपालिका–११ बस्ने रिना गिरीको परिवारले जेठ ९ गते फुडमाण्डुमार्फत हङ्ग्री टमबाट खाजा मगाएर खाए । प्राय त्यहि होटलबाट खाजा मगाएर खाने उनले त्यसदिन मम, चाउमिन, चिकन रोल र जिरा राइस मगाइन् । ‘भोलिपल्ट बिहानबाट अचानक पखाला लाग्ने, वान्ता हुने र ज्वरो आउने भयो । त्यसदिन क्लिनिकबाट औषधी ल्याएर खायौँ’, उनले भनिन्, ‘औषधी खाएपछि पनि सञ्चो भएन । ११ गतेदेखि अवस्था झनै खराब हुँदै गयो । अनि श्रीमान र छोरीलाई अस्पताल भर्ना ग¥यौँ ।’
श्रीमानको जेठ १२ गते र छोरीको हिजो (मंगलवार) डिस्चार्ज भएको उनले जानकारी दिइन् । खानेकुराबाट नराम्रो गन्ध आएपछि आफुहरुले सबै खाजा नखाएको र जेठ १० गते फुडमाण्डुका प्रतिनिधि आएर बाँकी खाजा फिर्ता लगेको उनले बताइन् । अर्काे एउटा परिवार पनि सोहि होटलबाट खाजा खाएर विरामी भई उपचार पश्चात दुई दिनअघि घर गएको उनको भनाई थियो । उपचारमा आफुहरुको करिब ४० हजार रुपैयाँ खर्च भएको उनले बताइन् ।
गुल्मी घर भई गैंडाकोट बस्दै आएका दुर्याेमणी पोखरेल श्रीमति र एक छोरीसहित जेठ ९ गते बेलुका हङ्ग्री टममा गएर पिज्जा, बर्गर र कोक खाएका थिए । भोलिपल्ट बिहान छोरीले पेट दुख्यो भन्न थालिन् । एकछिनमा सञ्चो होला भन्ठानेर उनी काम विशेषले धादिङको धार्केतर्फ लागे । ‘मलाई मुग्लिन नपुग्दै पेट दुख्न थाल्यो । छोरीलाई दिउँसो ३ बजे अस्पताल भर्ना गरियो’, उनले भने, ‘म यहाँ थिइन । छोरीलाई हेर्न पर्ने भएकाले श्रीमतिलाई भर्ना गर्न मिलेन ।’
खाजा खाएको भोलिपल्ट तीनै जनालाई पेट दुख्ने, पखाला लाग्ने, ज्वरो आउने, वान्ता हुने समस्या भएको उनले बताए । श्रीमतिलाई मंगलवारसम्म पनि फलोअपमा ल्याउनुपरेको उनले सुनाए । ‘होटलको कमजोरीले नै समस्या भएको हो । मान्छेको स्वास्थ्यमा खेलवाड गर्न त भएन नी’, उनी भन्छन्, ‘१५ सयको खाजा खाँदा उपचारमा ४३ हजार खर्च भयो ।’
भरतपुर सामुदायिक अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा खेमराज पौडेलले फुड पोइजनकै कारण बच्चाहरुमा समस्या देखिएको बताए । ‘जुन समस्या देखिएको छ, फुड पोइजनकै कारण हो । बच्चाको परिवारनै विरामी भएको छ । खानेकुराकै कारण सबै परिवारलाई संक्रमण भएको देखिन्छ’, उनी भन्छन्, ‘बासी र सडेगलेका खानेकुरा वा अरु कुनै दुषित कुराहरु मिसिएका खानेकुरा खाँदा त्यसले असर गर्छ ।’ फुड पोइजनका कारण पखाला लाग्दा बच्चाको शरिरमा पानीको मात्रा कम देखिएको उनले बताए ।
होटलको खाजा खाएर विरामी भएको बताउने बच्चाहरुमा उस्तै किसिमको समस्या देखिएको थियो । उनका अनुसार बच्चाको दिसा र रगतमा संक्रमण देखिएको थियो । ज्वरो पनि आएका हुनाले बच्चाहरुलाई भर्ना नै गरेर उपचार गर्नुपर्ने भएको उनले बताए । होटलबाट खाजा मगाएर खाएपछि विरामी भएको भन्दै अस्पताल आउने विरामीको संख्या केहिदिन यता बढेको उनको भनाई छ ।