काठमाडौं । सहकारीको बचत अपचलन प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आज बैठक बस्ने तय भएको छ।
शनिबार टुंगोमा नपुगेकाले बैठक आइतबार बिहान ९ बजेका लागि तय गरिएको हो। कार्यादेशमा सहमति जुट्न नसकेपछि बैठक पुनः आइतबार बस्न लागेको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए।
शनिबार साँझ कार्यदलको बैठकपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत नेता सहभागी थिए।
सहमहामन्त्री परियारले छलफल सकारात्मक भए पनि टुंगोमा पुर्याउने बाँकी काम आज शीर्ष नेताबीचको बैठकले गर्ने बताए।