पोखरा । पोखराका सहकारी पीडितहरूले तत्कालै छानबिन समिति गठन गर्न माग गरेका छन् । बचत फिर्ताको माग गर्दै उनीहरुले बचत पीडित सङ्घर्ष समिति गठन गरेका हुन् । पोखराका मुख्य ७ सहकारीका पीडितहरूले संयुक्त समिति बनाएका छन् ।
समितिले आइतबार छानबिन समितिको माग गर्दै प्रदर्शन गर्ने भएका छन् । १२ बजे सृजनाचोक देखि पृथ्वीचोकसम्म प्रदर्शन गर्ने संयोजक किरण श्रेष्ठले जानकारी दिए । सूर्यदर्शन सहकारी, इमेज, शिव शिखर, मित्रमिलन, प्राइम, बलिदानी र विन्ध्यवासिनी सहकारीका पीडितहरू एकजुट भएका हुन् ।
उनीहरुले छानबिन समिति गठन नगरेको, बचतकर्ताको बचत सुरक्षा गर्न पहल नगरेको, पीडकहरू पक्राउ नगरेको, कारबाहीको स्पष्ट नीति निर्माण नगरेको लगायतका गुनासो गरेका छन् । पोखराका सात सहकारीका करिब सात अर्ब रकम हिनामिना भएको छ भने झन्डै ४० हजार बचतकर्ता पीडित बनेका छन् । केही सहकारी समस्याग्रस्त अवस्थामा छन् ।
‘भित्री रूपमा दर्जनौँ सहकारीले बचत फिर्ता नगरी कार्यालय बन्द गरेका छन् । पीडितहरूले ठुला सहकारीको विषयमा राज्यले लिने नीति हेरिरहेका छन्,’ सङ्घर्ष समितिले भनेको छ,‘देवकुमार नेपाली, जीवी राई कुरिरहेका छन् । उनीहरू पक्राउ परेर बचत फिर्ता भएपछि अरू पीडितहरू खुल्छन् ।’