सुनिता सुवेदी
चितवन । भरतपुर महानगरपालिका–१२ मिलन चोकस्थित कल्भर्ट मुनी गत मंसिर ६ गते छुट्टा-छुट्टै जुटको बोरामा भेटिएका दुई वटा लासकाे सनाखत भएकाे छ । दुवै लास भारतीय नागरिककाे भएकाे खुलेकाे छ । नेपाल प्रहरीकाे केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)ले आज प्रेस विज्ञप्ती जारी गरी मृतककाे सनाखत र हत्या आरोपिकाे पहिचान भएकाे जानकारी दिएकाे हाे ।
मृतक पुरुष मोतिहारी फुलबारीया, सुगौलीको १९ वर्षिय ऋषभ कुमार कुशवाह र मृतक महिला बिहार सुंगाव डीह, सुगौली, पूर्वी चम्पारणकी ३० वर्षिय अस्मिता भन्ने सन्जु देवी रहेको सिआईबीले जनाएको छ । उनीहरूकाे हत्या मृतक महिलाका श्रीमान ३३ वर्षिय अखिलेश भगतले गरेकाे पनि प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।
मुखमा टेप लगाएको, घाँटीमा सल जस्तो रातो कपडाले कसेको, दुवै शवको दुवै हात र खुट्टा क्रस गरेर बाँधेको र सोही डोरीले घाँटीमा समेत बाँधेर डल्लो पारेर बोराभित्र राखेर फालिएको अवस्थामा दुई वटा लास प्रहरीले फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयले लासको सनाखत गर्न नसकेपछि पहिलो पटक हुलिया र दोस्रो पटक स्केच समेत सार्वजनिक गरेको थियो ।
हत्या गरिएका महिला र पुरूष भारतबाट नेपालमा तरकारी र फलफुल व्यापारको लागि पटक–पटक आउने जाने गरेका थिए । उनीहरु अन्तिम पटक २०८० सालको दशैँपछि आएर घटनास्थल नजिकै कोठा भारामा लिएर बस्दै आइरहेको अनुसन्धानको क्रममा खुलेको छ ।
विवाहेत्तर सम्बन्धको आशंकामा मृतक महिलाका श्रीमानले उनीहरूसँग झै–झगडा गर्थे ।
गत मंसिर २ गते मृतक महिलाका श्रीमानले उनीहरू बस्ने कोठमा गएर दुवैजनाको हत्या गरि लास बोरामा बाँधेको खुलेको सिआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
सिआईबीका अनुसार मंसिर ३ गते राति हत्या आरोपित भगतले लासलाई दुई पटक गरेर साईकलमा राखि कल्भर्ट तर्फ लगेको सिसिटिभि फुटेजमा देखिएको थियो । मृतक कुशवाह हत्या आरोपी भगतको नातामा भतिजा पर्ने प्रहरीले जनाएको छ ।
दुवैजनाको हत्या पश्चात आरोपि भगत मंसिर १६ गते भागेर भारततर्फ लागेका थिए । भारतिय प्रहरीसँग समन्वय गरि खोजतलास गर्ने क्रममा हत्या आराेपी भगत भारतको प्रहरी थाना सुगौली बिहारमा नै रहेको पत्ता लागेको सिआईबीले विज्ञप्तीमा उल्लेख गरेको छ ।
अपहरण तथा व्यक्ति वेपत्ता सम्बन्धि उजुरीको आधारमा सोही दिन भगतलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । भारतको केन्द्रिय कारागृह मोतिहारीमा अनुसन्धानको क्रममा उनले चितवनमा भतिजा नाता पर्ने क्रृषभ कुमार कुशवाहा र आफ्नो श्रीमतीलाई हत्या गरेको स्वीकार गरेको सिआईबीले जनाएको छ ।