भरतपुर । भरतपुर महानगरपालिका–१२ मिलन चोकस्थित कल्भर्टमा मंसिर ६ गते फेला परेको दुई वटा शवको पहिचानका लागि प्रहरीले मृतकको स्केच सार्वजनिक गरेको छ । ११ दिनसम्म पनि शवको पहिचान हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय चितवनले मृतकको स्केच सार्वजनिक गरेको हो ।
स्थानीयको सूचनाका आधारमा प्रहरीले दुई छुट्टा–छुट्टै जुटको बोराभित्र महिला र पुरुषको शव फेला पारेको थियो । सडे गलेको अवस्थामा फेला परेको शवको हुलियाको बारेमा ७७ वटै जिल्ला र छिमेकी देश भारतमा समेत जानकारी गराउँदा पनि सनाखत हुन नसकेपछि प्रहरीले स्केच नै बनाउनु परेको हो ।
विशेषज्ञहरुले मतृकको अनुहार प्रष्ट्याउने किसिमको डिजिटल म्यानिपुलेटेड इमेज (स्केच) तयार गरेका हुन् । मृतकको हुलिया र शरीमा भेटिएका चिजबस्तु, चिन्ह तथा कपडाहरुको विवरण पनि प्रहरीले सार्वजनिक गरिसकेको छ ।