दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कुनै भूमिका नहुँदानहुँदै पनि नेपालीहरू जलवायु परिवर्तनका कारण सिर्जित विपदबाट अत्यधिक प्रभावित रहेको बताएका छन्।
‘हामीलाई घोर अन्याय भएको छ, यसकोे अन्त्य हुनुपर्छ,’ दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनको उच्च राजनीतिक सत्रलाई शनिबार सम्बोधन गर्दै उनले भने।
प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका बाढी, पहिरो, डढेलोे, हिमताल विस्फोट तथा खडेरीजस्ता विपद्का घटनाले नेपालीहरू गम्भीर हिसाबले प्रभावित रहेको बताए। ‘म यहाँ हाम्रा निर्दोष जनताले जलवायु न्याय पाउनुपर्छ भनेर उभिएको छु,’ उनले भने।
सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले जलवायु जोखिममा रहेका अल्पविकसित राष्ट्रलाई वित्तीय तथा प्राविधिक सहयोगको आवश्यकता औंल्याउँदै विकसित राष्ट्रले पर्याप्त स्रोतसाधन उपलब्ध गराउनुपर्नेमा जोड दिए। पर्याप्त सहयोगको अभावमा नेपालजस्ता राष्ट्रले संकटलाई आफ्नै हिसाबले सम्बोधन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री दाहालले बर्सेनि विकासोन्मुख राष्ट्रलाई १०० अमेरिकी डलर जलवायु वित्त उपलब्ध गराउने भनी विकसित राष्ट्रबाट यसअघि भएका प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने, जलवायु विपद्लाई सम्बोधन गर्ने क्रममा ऋण सहयोग नभई अनुदान सहयोग हुनुपर्नेमा पनि उनले जोड दिएका छन्।