चितवन । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा विरामी र विरामीका आफन्तले घेरेका छन् । समयमा उपचार नपाएको, मेशिनहरु बिग्रिएर नीजि अस्पतालमा पठाउने गरिएको र सामान्य औषधी पनि नभएर बाहिरका औषधी पसलमा पठाउने गरिएको भन्दै विरामीले मन्त्री बस्नेतलाई अस्पतालको प्रशासनिक भवनबाट बाहिरिने क्रममा घेरेका हुन् ।
क्यान्सर अस्पतालमा विरामीले निकै सास्ती पाउनुपरेको विरामीहरुले गुनासो गरे । विरामीका गुनासालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले १५ दिनभित्र अस्पताल सुधार्ने प्रतिबद्धता व्यक्त गरे । अस्पतालले भर्खर मात्रै नेतृत्व पाएको भन्दै उनले तत्काल सुधार गर्नुपर्ने काम एक हप्ताभित्र सम्पन्न गर्न कर्मचारीलाई निर्देशन पनि दिए ।
मन्त्री बस्नेतले अस्पतालको आकस्मिक कक्ष लगायत विभिन्न विभागको निरीक्षण गरे । पैसाको अभावमा उपचार गर्न नपाएको भन्दै गुनासो गरेकी एक महिला विरामीलाई उनले नगद ५ हजार रुपैयाँ दिए । साथै उनको उपचारमा कुनै कमी हुन नदिन उनले निर्देशन दिए । उनीसँगै बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले पनि निरीक्षण गरेका थिए ।