काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारहरूले बाँच्ने गरी पारिश्रमिक पाउनुपर्नेमा सरकार सकारात्मक रहेको बताएकी छन्।
आइतवार न्यूनतम पारिश्रमिक निर्धारण समितिले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएकी हुन्। मन्त्री शर्माले अहिलेको परिस्थितिअनुसार कसैको पनि सेवा, सुविधा पुग्ने किसिमको नरहेको बताइन्।
उनले नीति तथा कार्यक्रममा पनि समानुपातिक विज्ञापनको कुरा उठाएको भन्दै समानुपातिक विज्ञापनले पनि न्यूनतम पारिश्रमिकको कतिपय कुरा समेट्ने विश्वास व्यक्त गरिन्। उनले विज्ञापनमा एकद्वार प्रणाली र समानुपातिक विज्ञापनले विज्ञापनमा हुने चुहावट कम हुने विश्वास व्यक्त गरिन्। उनले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताइन्।
उनले भनिन्, ‘अन्य क्षेत्रमा तलब बढ्दा पनि श्रमजीवी पत्रकारलाई दिइने न्यूनतम पारिश्रमिकले बाँच्न गाह्रो खालको छ भन्ने छ, यसमा हामी हेर्नेछौँ। हामीले नीति तथा कार्यक्रममा पनि समानुपातिक विज्ञापनको कुरा गरेका छौँ, त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्ने कुरा एक ठाउँमा छ। एकद्वार प्रणालीको कुरा पनि गरिसकेका छौँ। यसले विज्ञापनमा हुने चुहावट त्यो मिडिया हाउसमा सिधा पुग्नेछ। विज्ञापन लगायतका माध्यमबाट विशेष कार्यक्रम बनाउन सकिन्छ। मन्त्रालय श्रमजीवी पत्रकारले बाँच्ने गरी तलब पाउनुपर्छ, भन्नेमा सकारात्मक छ। यसमा मन्त्रालयमा आन्तरिक छलफल गर्नेछौँ। श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नहुने र ऐन कानून हुँदा पनि केही नहुने भन्ने हुँदैन, दण्ड सजायको व्यवस्था होला। हाम्रोमा केही समस्या छन्। ऐन, विपरीत नियमावली बनेर पनि चलेका छन्। त्यसै कुरालाई व्यवस्थित ढंगले सोच्नेछौँ।’
मन्त्री शर्माले ऐनविपरीत नियमावली बनेर चलाइएको भन्दै त्यसलाई व्यवस्थित गर्ने दिशामा सरकार रहेको बताइन्। निर्धारण समितिले प्रत्येक २ वर्षमा न्यूनतम पारिश्रमिक पुनरावलोकन हुनुपर्नेमा कोरोनाको कारण देखाई पछिल्लो समय न्यूनतम पारिश्रमिक पुनरावलोकन हुन नसकेको भन्दै नयाँ पारिश्रमिक पुनरावलोकन सिफारिस कार्यान्वयनमा ल्याउन माग गरेको छ।
सञ्चार प्रतिष्ठानमा कार्यरत जनशक्तिले ऐन बमोजिमको सुविधा पाए, नपाएको सत्य तथ्य पत्ता लगाउन प्रभावकारी अनुगमन गर्नका लागि आवश्यक बजेट र जनशक्तिको व्यवस्था गर्न, ऐन कार्यान्वयन नगर्ने प्रतिष्ठानमा कुनै पनि सरकारी सूचना प्रकाशनरप्रशारण गर्न नपाइने व्यवस्था गर्न लगायतका ८ वटा माग सरकारसमक्ष राखेको छ।












